• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बुलेट बाइक चढेर रिजोर्ट पुगेका डा. केशव श्रेष्ठ रिजोर्टमा के-के गरे ?


  • धनकुटा खबर
  • .

सोमबार (आज) बिहान फेसबूकमा ‘अलबिदा’ लेखेर गायब भएका डा. केशव श्रेष्ठ अन्तत: सकुशल भेटिए। उनलाई प्रहरीले तारकेश्वर नगरपालिका ३ स्थित श्रीनाथ बुटिक रिजोर्टमा भेटाएको हो।

उनले फेसबूकमा ‘अलबिदा’ शीर्षकमा लामो एक स्टाटस लेखेर मोबाइल पनि अफ गरेका थिए। उनले लेखेका स्टाटस धेरैले साझेदारी पनि गरेका थिए भने मिडियाहरूले समाचार बनाए। यसपछि प्रहरीले पनि थाहा पायो र खोजी कार्यमा जुट्यो, अन्तत: उनी भेटिए।

रिजोर्टका म्यानेजर राकेश लोहारका अनुसार डा. श्रेष्ठ बुलेट बाइक चढेर बुटिक पुगेका थिए। ‘उहाँ बिहान साढे १० देखि ११ बजेको बीचमा यहाँ आउनुभएको थियो, उहाँ बुलेट बाइक चढेर यहाँ आउनुभएको थियो,’ लोहारले भने।

उनका अनुसार डा. श्रेष्ठले त्यहाँ कफी पिएका थिए। ‘तर, उहाँ केही बोलिरहनुभएको थिएन। कफीचाहिँ पिउनुभयो एक कप, थप कुरा गर्नुभएको थिएन। तर, बस्नचाहिँ लामै समय बस्नुभयो,’ उनले भने।

म्यानेजर लोहारका अनुसार डा. श्रेष्ठ मात्रै सुरुमा रिजोर्ट पुगेका थिए। तर, पछि उनका ४/५ जना साथीहरू पनि थपिएका थिए। ‘सुरुमा उहाँ मात्रै यहाँ आउनुभएको थियो। पछि केही साथीहरू होलान्, आए। अनि पछि त प्रहरी पनि आयो र प्रहरीले साथमा लिएर गएको छ,’ उनले भने।

त्यसो त डा. श्रेष्ठले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफू ‘आत्महत्या’कै लागि हिँडेको बताएको जनाइएको छ। तर, रिजोर्टमा भने त्यसखाले कुनै गतिविधि नदेखाएको म्यानेजर लोहारले बताए।

डा. श्रेष्ठले १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट भएर काम गरेका थिए। तर, राजनीतिकरण गरेर आफूलाई काम गर्न नदिइएको उनले स्टाटसमा उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖