नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक नयाँ दिशातर्फ वेगले दौडिरहेको अवस्थामा कांग्रेसले आफ्नो भूमिका समयानुकूल पुनः परिभाषित गर्नुपर्ने बताएका छन् । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकार बनेपछि शनिबार बिहान विज्ञप्ति जारी गर्दै उनले राजनीतिमा नयाँ प्रयोग शुरू भएको भन्दै त्यसलाई सतर्कतापूर्वक हेरिनुपर्ने बताएका हुन् ।
अन्तरिम सरकारले आम नागरिकको भरोसा जित्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । ‘मुलुक वेगवानरूपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ। नयाँ सरकारले आम नागरिकको भरोसा र विश्वास जितेर काम गर्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।
जेनजी आन्दोलनमा भएको लुटपाट, आगजनी र सामाजिक त्रासलाई डा. कोइरालाले सभ्य समाजले स्वीकार्न नसक्ने कार्य भन्दै कडा शब्दमा आलोचना गरेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि घरमै आक्रमण गरी परिवारलाई लक्षित गरिएको घटनालाई जघन्य अपराध भन्दै त्यसको कडा निन्दा गरेका छन् । ‘अब हामीसँग आँसु बगाएर समय खेर फाल्ने अवस्था छैन,’ डा. कोइरालाले भने, ‘हामीले विगतका कमजोरी स्वीकार गरेर प्रायश्चित गर्नुपर्छ । समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस समर्पित हुनेछ।’
कोइरालाले लोकतान्त्रिक आन्दोलनका ऐतिहासिक योगदानकर्ताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत संघर्षलाई स्मरण गर्दै पार्टीले भावी दिनमा जनताको भरोसा केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
भाद्र २४ गते आन्दोलनका क्रममा आगजनीमा परेर खरानी बनेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासबारे बोल्दै उनले भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न। विपी विचार मर्न सक्दैन ।’
उनले कोइराला निवासलाई नवीन कांग्रेस निर्माणको प्रेरणादायी प्रतीक भन्दै त्यसको खरानीबाटै पार्टीलाई पुनर्जीवित गर्ने संकल्प व्यक्त गरेका छन् ।
