नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबारमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।
शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले शनिबार मन्त्रीहरूको शपथको कुनै कार्यक्रम नभएको जानकारी दिए ।
‘शपथ हुँदा तीन/चार घण्टा अगाडि नै प्रधानमन्त्री कार्यालयबाट जानकारी आउँछ । तर नयाँ सरकारमा मन्त्रिपरिषद् विस्तारका लागि शनिबार कुनै तयारी भएको छैन,’ पोखरेलले लोकान्तरसँग भने, ‘उहाँहरू सल्लाहमै हुनुहुन्छ होला । आइतबारसम्म सानो आकारको मन्त्रिपरिषद् बनाउने जस्तो बुझेका छौं ।’
यस अघि जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा अन्य राजनीतिक दलहरूले पनि जेनजी पुस्ताको मागअनुसार, चुनावी सरकारको गठनमा सहमति दिएका थिए ।
त्यसपछि शुक्रबार राति राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । शुक्रबार नै कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेकी थिइन् ।
शपथपछि कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने शर्तमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको हो ।
तर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले संसद् विघटनप्रति असन्तुष्टि जनाएका छन् । संविधानभित्रैको प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने र संसद् कायम नै राख्न सकिने अवस्था रहेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
जेनजीको आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउने समझदारी भएको थियो ।
प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ । राजनीतिक दलभन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।
प्रधानमन्त्री भएको भोलिपल्ट शनिबार कार्कीले आन्दोलनपछि उपचाररत जेनजी पुस्ताका घाइतेलाई भेटेकी छिन् । ट्रमा सेन्टर, सिभिल अस्पताल पुगेर उनले घाइतेको अवस्था बुझेकी हुन् ।
