प्रधानमन्त्री सुशिला कार्कीलाई गृह मन्त्री माग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेको खुलेको छ।
साम्पाङ आइतबार बिहानै ७ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री कार्कीसँग भेट्न अनुमति मागेका थिए।
बालुवटारका सुरक्षाकर्मीहरूले साम्पाङलाई सुरूमा भित्र प्रवेश गर्न दिएका थिएनन्। तर लामो समयसम्म पनि भट्न अनुरोध गरेपछि भने सुरक्षाकर्मीले परिसर भित्र प्रवेश दिएको बालुवाटार स्रोतले बतायो।
उनी बिहान ७ बजेदेखि १ बजेसम्म बालुवाटारमै कुरेर बसेका थिए। अहिले प्रधानमन्त्री कार्कीले समय नलिएका व्यक्तिहरूसँग नभेट्ने बताएकी छन्।
त्यसो हुँदा साम्पाङ भेट्न नपाइ फर्किएका हुन्।
त्यसैगरी, नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि शनिबार साँझ प्रधानमन्त्री निवास पुगेको बालुवाटार स्रोतले बताएको छ। उनले प्रधानमन्त्रीसँग किन भेट्न खोजेका थिए भन्ने खुलेको छैन।
उनले सुरक्षाकर्मीसँग ‘आफू पूर्व आइजिपी हुँ, भेट्न नदिने!’ भनेर सुरक्षाकर्मीसँग असन्तुष्टि पोखेका थिए। उनी आएको प्रधानमन्त्री कार्कीलाई सुरक्षाकर्मीले जानकारी गराएपछि कार्कीले भनेकी थिइन्, ‘अपोन्टमेन्ट नलिएको मान्छेसँग भेट्दिनँ।’
उपमेयर हर्क साम्पाङले यसअघि प्रधानमन्त्री समेत बन्ने प्रयास गरेका थिए। युवाहरूको समर्थन आफूलाई भएको बताउँदै उनी जंगी अड्डासमेत पुगेका थिए।
