देशमा अराजकता फैलदै गएको छ। प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहले आइतबार राति बालुवाटार अगाडि नाराबाजी गरेको हो।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’ र ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नाराबाजी गरेका थिए। मृतक जेन–जी आन्दोलनका परिवारजन समेत प्रदर्शनमा सहभागी भएका थिए।
बालुवाटारको तीन नम्बर गेट अगाडि सुदन गुरुङले चेतावनीपूर्ण अभिव्यक्ति दिँदै भने, “सबैभन्दा पावरफुल जनता हुन्, कसैले रोक्न सक्दैन, जुन ठाउँमा राखेका छौं, त्यहाँबाट थुतेर निकालिदिन्छु।”
सुदन समूहले कार्कीले ओमप्रकाश अर्याललाई गृहमन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जामन्त्री नियुक्त गर्दा आफूहरूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएको हो। नाराबाजीपछि बालुवाटार वरिपरि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।
एक महिलाले प्रदर्शनका बीच प्रश्न गरिन्, “दाइ, हिजोसम्म त हजुरलेनै हामीलाई न्याय दिन्छु भन्नुभएको, आज यही हामीसँगै हुनुहुन्छ भने हामीले कसलाई गुहार्ने, कसलाई के भन्न जाने ?” उनको प्रश्नको जवाफमा सुदनले भने, “कसैले हामीलाई रोक्न सक्दैन, जुन ठाउँमा हामीले राखेका छौं त्यही ठाउँबाट हामी थुतेर निकाल्छौं। यो ओमप्रकाश कि सोमप्रकाश एल्ले आफैं गृहमन्त्री के के बनाउँदै रहेछ भित्र बसेर, म चाहिँ यहाँ लाशमा हिँडिरहेको थिए।” भिडियोमा सुदनले यस्ता अभिव्यक्ति दिएका देखिन्छ।
हिजोसम्म सरकारसँग सहकार्य गरेर न्याय दिलाउने वाचा गर्ने सुदन, आज भने सडकमा उत्रिएर सरकारविरुद्ध कडा नाराबाजी गर्दैछन्। यही कारणले अहिले चर्चाको केन्द्रमा प्रश्न उठेको छ, रातारात के कुरामा परिवर्तन भए सुदन ?
