काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र आमूल सुधार आवश्यक रहेको बताएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक गरेको प्रस्तावमा भदौ २३ र २४ गते जेन–जी युवाहरूको आन्दोलनपश्चात बनेको राजनीतिक परिस्थिति स्वीकार गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताए।
उनले भने, “अन्तरिम सरकार गठन भैसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ।”
थापाले आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनलाई अक्षम्य ठहर गर्दै छानबिन र दोषीलाई कानुनी कारबाहीको माग दोहोर्याए। साथै, आन्दोलनपश्चात भएको विध्वंस र आगजनीका दोषीलाई पनि कानुनी दायरामा ल्याउन निरन्तर दबाब दिनुपर्नेमा जोड दिए।
उनले सङ्घ, प्रदेश र स्थानीय सरकारका संरचनाहरूलाई सुरक्षित राख्दै नागरिक सेवामा कमी नआउने गरी तत्काल पुनर्निर्माण र व्यवस्थापन थाल्नुपर्ने आवश्यकता औँल्याए।
पार्टीभित्र सुधार आवश्यक भएको उल्लेख गर्दै थापाले सदस्यता, सङ्गठन संरचना र नेतृत्व छनोट प्रक्रियासहित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए। उनले भने, “पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। आवश्यक परे म महामन्त्री पदबाट राजीनामा दिन पनि तयार छु।”
थापाले आन्दोलनका क्रममा मारिएका युवाहरूको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारमुक्त र जनमुखी राजनीतिलाई अघि बढाउने सङ्कल्प व्यक्त गरे।
थापाले अन्त्यमा पार्टी सभापति शेरबहादुर देउवा लगायत कांग्रेस र अन्य दलका नेता तथा कार्यालयमाथि भएको आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
