• Thursday 22nd of October 2026

यस्तो छ कार्की मन्त्रिपरिषद बैठकको पहिलो निर्णयहरु


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनको बलमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न निर्णय गरेको छ । सोमबार बसेको कार्की मन्त्रिपरिषद्को पहिलो बैठकले न्यायिक जाँचबुझ आयोग गठनदेखि शोक बिदासम्मको निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले आउँदो असोज १ गते बुधबार शोक बिदा दिने निर्णयभएको जानकारी दिए । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले शोक बिदा दिने निर्णय गरेको गृहमन्त्री अर्यालले बताए ।

उनका अनुसार सरकारले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, हत्या, तोडफोड र आगजनीको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत भएको छ ।

आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको हो । तर, उक्त आयोग कसको नेतृत्वमा बनाउने भन्नेबारे चाहिँ निर्णय भइसकेको छैन । यसबारे पछि निर्णय गरिनेछ ।

यसैगरी, सरकारले जेनजी स्मारक पार्क बनाउने निर्णय पनि गरेको छ । नेपालको सत्ता परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका जेनजीहरूको आन्दोलनको सम्मानमा स्मारक पार्क बनाउने निर्णय भएको गृहमन्त्री अर्यालले बताए ।

जेनजी स्मारक पार्क कहाँ बनाउने भन्ने स्थान पछि तय गरिने उनले बताए ।

यसैगरी, जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र उनीहरूलाई सहिद घोषणा निर्णय समेत सरकारले गरेको छ । सरकारका अनुसार जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । घाइतेहरूको नि:शुल्क उपचार गर्ने र मृतकका परिवारलाई प्रतिपरिवार १५ लाख रूपैयाँ दिने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णयका लागि मन्त्रिपरिषद्‌मा पेस गरेका सबै प्रस्ताव लिनेनिर्णय गरेको छ ।

अघिल्लो मन्त्रिपरिषद्‌मा निर्णयका लागि पेस भएका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको गृहमन्त्री अर्यालले बैठकपछि जानकारी दिए ।

यही भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि ओलीले राजीनामा दिएका थिए ।

त्यसपछि गत शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् । उनले सोमबार पहिलो चरणमा तीन मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

जसमा डा. रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् ।

घिसिङलाई ऊर्जासँगै शहरी विकास र भौतिक पूर्वाधार एवं अर्याललाई गृहसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

छानिछानि राम्रा मान्छे ल्याइने

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‌मा छानिछानि राम्रा मान्छे ल्याउने बताएकी छन् ।

सोमबार उनी नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकपछि लोकान्तरकर्मीले सोधेको प्रश्नमा उनले मन्त्रिपरिषद्को पूर्णताबारे हतार नगर्न भनेकी हुन् ।

‘किन आत्तिनुहुन्छ ? छानिछानि रोजीरोजी राम्रा मान्छे ल्याइहाल्छौं नि !’, प्रधानमन्त्री कार्कीले संक्षिप्त जवाफ दिँदै भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖