• Thursday 22nd of October 2026

घरमा आगजनी हुँदा कहां थिइन् पूर्वराष्ट्रपति भण्डारी ?


  • धनकुटा खबर
  • .

भदौ २४ गते सबैजसो शीर्ष नेताहरूको घर तोडफोड र आगजनी हुने क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर पनि अछुतो रहन सकेन।
बूढानीलकण्ठस्थित भंगालमा रहेको घरमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सुरू गर्दा पूर्वराष्ट्रपति भण्डारी भित्रै थिइन्।

घरमा आगो सल्किने अवस्था आएपछि उनलाई सेनाले उद्धार गरेको थियो। सैनिकहरूले उनलाई गाडीमा राखेर दौडाएका थिए।

त्यो भिडिओ प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमा राखेका छन्। भण्डारी निस्किएपछि प्रदर्शनकारीले घरभित्रै पसेर तोडफोड र आगजनी गरेका थिए।
मंगलबार दिउँसोबाटै पूर्वराष्ट्रपतिको घरमा आगजनी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

निवासबाट उद्धार गरी सेनाले स्थलमार्ग हुँदै शिवपुरी पुर्‍याएको थियो। पूर्वराष्ट्रपतिलाई शिवपुरीमा रहेको नेपाली सेनाको स्टाफ कलेजमा राखिएको एक अधिकारीले बताए।

त्यहाँ निवर्तमान प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीहरूलाई राखिएको थियो। उनीहरू अधिकांश सुरक्षा घेराबाट बाहिर आइसकेका छन्। शीर्ष नेताहरू पनि बाहिर आउन थालिसकेका छन्। अहिले त्यहाँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै छन्।

पूर्वराष्ट्रपति भण्डारी भने शिवपुरी र घर आउजाउ गरिरहेको सेनाको दाबी छ। उनको घर अहिले बस्न लायक अवस्थामा छैन।

भण्डारीको सचिवालयले पनि उनी सुरक्षित ठाउँमा रहेको बताउँछ।
त्यस दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बिहानैदेखि तोडफोड भएको थियो। भण्डारी निवासमा भने मध्याह्नसम्म मानिसहरूको भीड बढेको थिएन। तर दिउँसो भएपछि भीड बढ्न थालेको नेपाली सेनाको एक अधिकारीले बताए।

देउवा दम्पतीलाई उद्धार गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। उनीहरूलाई प्रदर्शनकारीहरूले कुटपिट गरी रक्तमुच्छेल बनाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖