राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते निर्वाचन घोषणा गरेलगत्तै माओवादी केन्द्र चुनावी मोडमा प्रवेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सातै प्रदेशका इन्चार्ज र प्रदेश अध्यक्षलाई संगठन परिचालन गर्दै चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन्।
दाहालले भनेका छन्, “चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन, अब हामी संगठनलाई चुनावतर्फ केन्द्रित गरौं।” उनले जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै बदलिँदो परिस्थितिमा चुनावलाई नै समाधानको बाटोका रूपमा अघि सार्नुपर्नेमा जोड दिए।
माओवादीका अनुसार कांग्रेस-एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन चुनाव नै विकल्प भएको भन्दै संगठनलाई सक्रिय बनाउन थालिएको हो। चुनावलाई सफल बनाउनु संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने मुख्य आधार भएको माओवादीको निष्कर्ष छ।
अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले औपचारिक रूपमा चुनावमा जाने निर्णय गर्ने बताइएको छ। सचिव देवेन्द्र पौडेलले भने, “चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ।”
यद्यपि, आठ दल मिलेर संसद् पुन:स्थापना गर्नुपर्ने माग अघि सारे पनि माओवादीले व्यावहारिक रूपमा अब चुनावमै जानुपर्ने निष्कर्ष निकालेको देखिन्छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, सचिव राम कार्कीले चुनावी सरकारलाई सघाउने भन्दै अन्तरिम सरकारलाई अनुकूल वातावरण बनाउन आग्रह गरेका छन्।
जेन-जी आन्दोलनका कारण स्थगित भएको मध्यपहाडी राजमार्ग अभियान रोकिएको भए पनि अध्यक्ष दाहालसहित नेताहरू फेरि दैनिक राजनीतिक गतिविधिमा सक्रिय भएका छन्। यसलाई माओवादीले नयाँ संघर्षलाई निर्वाचनमार्फतै सम्बोधन गर्ने रणनीति बनाएको संकेतका रूपमा हेरिएको छ।
