• Thursday 22nd of October 2026

हरि ढकालको टिप्पणी पछि दल भित्रै तुफान : बाघको छालामा स्यालको रजाईं ?


  • धनकुटा खबर
  • .

सहकारी ठगी मुद्दामा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भदौ २४ गते जेलबाट निकाल्दा देखाइएको हर्षबढाइँको शैलीले पार्टीभित्र नै ठूलो विवाद जन्माएको छ।

केन्द्रीय सदस्य गणेश कार्कीले ‘विजय जुलुसजस्तो शैली’ आपत्तिजनक भएको भन्दै सभापतिको निर्दोषिता कानुनी प्रक्रियाबाट मात्र प्रमाणित हुनुपर्ने धारणा राखे। उनी भन्छन्, “कानुन मिचेर जेलबाट निकाल्ने काम भए र त्यसले डनको झल्को दियो भने त्यसको जिम्मेवारी पार्टी लिन सक्दैन।”

उनको यो टिप्पणीलाई खण्डन गर्दै केन्द्रीय सदस्य हरि ढकाल आक्रोशित भए। ढकालले लामिछानेकै कारण रास्वपाले ११ लाख ३० हजार मत पाएको भन्दै कार्कीको आलोचनालाई ‘बाघको छालामा स्यालको रजाइँ’ भनी कटाक्ष गरेका थिए। पछि भने उनले आत्मालोचना गरेका छन्।

यसैबीच, केन्द्रीय सदस्य सन्तोष परियार, प्रवक्ता मनिष झा लगायतका नेताहरूले पनि लामिछानेलाई जेलबाट निकालेको तरिकाले पार्टीलाई घाटा पुगेको स्वीकार गरेका छन्। हस्ताक्षर अभियानमार्फत जनसमर्थन बढिरहेका बेला यस्तो दृश्यले नकारात्मक प्रभाव पारेको उनीहरूको भनाइ छ।

भित्रभित्रै बढेको असन्तुष्टिको परिणामस्वरूप पूर्व सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले समेत राजीनामा दिएका छन्।

यता, आगामी फागुन २१ मा निर्वाचन घोषणा भइसकेको अवस्थामा रास्वपाले भने अझै महाधिवेशनको तयारी पूरा गर्न सकेको छैन। पार्टीभित्रै नेताहरूले निर्वाचनअघि महाधिवेशन गरेर संगठन पुनर्गठन गर्न दबाब दिइरहेका छन्।

रास्वपाको भविष्य महाधिवेशन र लामिछानेको मुद्दाको टुंगोमा निर्भर रहने देखिएको छ।-हिमाली पत्रिका

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖