• Monday 5th of October 2026

इंग्ल्यान्डका मलानले चितवनबाट एनपीएल खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । इंग्ल्यान्डका ब्याटर डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवनले मंगलबार सामाजिक सञ्जालमा पोस्ट राखेर मलानलाई अनुबन्ध गरेको जनाएको हो । ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेलमा १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन् ।

इंग्ल्यान्डले सन् २०२२ मा टी-२० विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए । मलानले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

उनले समग्र टी-२०मा ३८४ खेल खेल्दा ५ शतक र ७२ अर्धशतकसहित १० हजारभन्दा बढी रन बनाएका छन् ।

पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।

अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖