काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकप खेल गुमाउनुपर्ने अवस्था हटेको छ। आयरल्यान्डविरुद्धको खेलमा रातो कार्ड पाएपछि उनी लामो प्रतिबन्धमा पर्न सक्ने चिन्ता थियो। तर फिफाले सार्वजनिक गरेको नयाँ निर्णयले उनलाई राहत दिएको छ।
फिफाले रोनाल्डोमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ, तर तीमध्ये दुई खेल एक वर्षको ‘प्रोबेशन’मा राखिएको छ। उनी पहिले नै एक खेलको अनिवार्य निलम्बन भोगिसकेका छन्, जसअन्तर्गत पोर्चुगलले आर्मेनियामाथि ९-१ को जित दर्ता गरेको थियो।
फिफाका अनुसार अब रोनाल्डोले आगामी एक वर्षभित्र यस्तै प्रकृतिको अर्को गल्ती गरेपछि मात्रै बाँकी दुई खेलको प्रतिबन्ध लागु हुनेछ।
यस निर्णयसँगै रोनाल्डो आगामी जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुने विश्वकपमा पोर्चुगलका पहिलो खेलदेखि नै उपलब्ध हुने सम्भावना प्रबल बनेको छ।
हालै मात्र रोनाल्डो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानसँग वासिङ्टन डिसीमा भएको औपचारिक डिनरमा सहभागी भएका थिए। यो भेटपछि आएको फिफाको निर्णयले थप चासो पैदा गरेको छ।
