काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेन–जी (Gen-Z) प्रतिनिधिहरूलाई एकजुट गरी आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी गराउने जिम्मेवारी नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बम लाई दिएका छन्।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जेन–जी पुस्तालाई समेत राजनीतिक प्रक्रियामा सक्रिय गराउने उद्देश्यसहित मेयर शाहले रक्षा बमलाई संयोजनको जिम्मेवारी सुम्पिएका हुन्। यससम्बन्धी राजनीतिक संवाद बुधबार ललितपुरको कुपण्डोलस्थित मेयर शाहका निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा भएको थियो, जसमा रक्षा बमलगायत विभिन्न व्यक्तिहरू सहभागी थिए। सो छलफल आज पनि जारी रहेको जनाइएको छ।
छलफलका क्रममा जेन–जी प्रतिनिधिहरूलाई एक प्रमुख ‘स्टेकहोल्डर’का रूपमा राखिएको थियो। मेयर शाहले आफूले अघि सारेको देश विकास पार्टीमार्फत जेन–जी प्रतिनिधित्वलाई संस्थागत रूपमा समेट्न चाहेको स्रोतको भनाइ छ। त्यसका लागि बुधबार दिउँसो मेयरका स्वकीय सचिव भूपदेव शाहले रक्षा बमलाई छलफलका लागि बोलाएका थिए। करिब तीन घण्टा चलेको उक्त छलफलमा मेयर शाह र उनको सचिवालयका सदस्यहरू सहभागी थिए।
मेयरको सचिवालयका एक सदस्यका अनुसार जेन–जी प्रतिनिधिहरूलाई पार्टी र चुनावी प्रक्रियामा ल्याउने समन्वयको जिम्मेवारी रक्षा बमलाई दिइएको हो। “कुराकानी भइरहेको छ। मेयर अगाडि बढ्ने निर्णयमा पुगिसक्नुभएको छ। सबै पक्षसँग मिल्ने बाटो खुला राखिएको छ, तर नमिलेको अवस्थामा एक्लै भए पनि लड्ने तयारी छ,” ती सदस्यले भने, “जेन–जीहरूलाई पनि समेट्ने कुरा छ। रक्षा बमसँग यसबारे स्पष्ट संवाद भइसकेको छ। वास्तविक जेन–जी टिमहरूलाई मिलाउने जिम्मा उहाँकै संयोजनमा अघि बढिरहेको छ।”
सहिद परिवार, जेन–जीका विभिन्न समूह तथा अन्य सरोकारवालासँग छलफल गर्न पनि रक्षा बमलाई जिम्मेवारी दिइएको सचिवालय स्रोतले जनाएको छ। रक्षा बम र बालेनको टिमबीच भएको छलफल करिब तीन घण्टा चलेको थियो।
छलफलपछि रक्षा बमले यो प्रक्रियालाई सुरुआतको चरणको रूपमा व्याख्या गर्दै वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउन सक्ने सम्भावनाबारे संवाद भएको बताइन्। “यो सुरु मात्रै हो। हामीले वैकल्पिक शक्तिसँग संवाद खुला राखेका थियौँ। नयाँ शक्तिहरू मिल्नुपर्ने कुरा निरन्तर आइरहेको थियो। त्यहीअनुसार हिजो मेयरज्यूसँग कुराकानी भयो,” उनले बताइन्।
रक्षा बमका अनुसार उनले छलफलमा तीन विषयमा स्पष्टता खोजेकी थिइन्। संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे प्रश्न उठाउँदै करिब १० मिनेट राजनीतिक स्पष्टताको संवाद भएको उनको भनाइ छ। “संघीयता चाहिन्छ, संविधान राम्रो छ तर कार्यान्वयनमा कमजोरी भयो भन्ने धारणा राख्नुभयो। लोकतन्त्र आवश्यक छ र प्रत्यक्ष कार्यकारीबारे पनि छलफल भयो,” उनले भनिन्। यी जवाफपछि आफू विश्वस्त भएको पनि उनले बताइन्।
मेयर शाहले रक्षा बमलाई निर्वाचनका लागि आँट्नसमेत आग्रह गरेको उनले जानकारी दिइन्। समानुपातिक सूचीमा बस्ने वा प्रत्यक्ष निर्वाचनमा उठ्नेबारे विकल्प रहेको भए पनि यस विषयमा अझै टुंगो नलागेको उनले स्पष्ट पारिन्। त्यसपछि सचिवालय सदस्यहरूबीच थप आन्तरिक छलफल भएको थियो।
“जेन–जीहरू कस–कसको रुचि र इच्छा छ, सबैसँग संवाद गर भनेर भनिएको छ,” रक्षा बमले भनिन्।
बुधबार मेयर शाहले कांग्रेस नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, जनमत पार्टीका सीके राउत, चिकित्सक डा. भगवान कोइराला, तथा जेन–जी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेत लगायतसँग पनि छलफल गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने समयसीमा नजिकिँदै गएपछि मेयर शाहले राजनीतिक गृहकार्यलाई तीव्र बनाएका हुन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार पुस १३ र १४ गतेभित्र समानुपातिक बन्दसूची बुझाउनुपर्नेछ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने विषयमा मेयर शाह पछिल्लो समय सक्रिय रूपमा लागेका छन्।
