• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रकाश पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्की दिएपछि डिफ्युजन नोटिस जारी गरेर पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पक्राउ गरेको थियो ।

काभ्रे घर भएका पाठकले राईसहित १० जनालाई धम्की दिएका हुन् । पाठक भारत, इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेको थाहा भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना इन्स्पेक्टर जाने निर्णय भएको छ । इन्टरपोलको फिलिपिन्स शाखा र फिलिपिन्स अध्यागमनले आफ्नो कार्यविधिगत काम पुरा गरेपछि खबर गर्ने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘कार्यविधिगत काम पुरा भएपछि खबर आउँछ त्यसपछि यहाँबाट हाम्रो टोली जान्छ ।’

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।

मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धीरेन्द्र सुनार छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖