काठमाडौ । राजनीतिक जीवनमै कहिल्यै सांसदको चुनाव नहारेका शेरबहादुर देउवालाई डडेल्धुरामा पराजित गरेर इतिहास रच्ने सागर ढकालले गोल्डेन चान्स पाएका छन् ।
अन्तिम पटक चुनाव लड्ने भन्दै डडेल्धुराबाट सांसद उम्मेदवारका लागि शेरबहादुर देउवा कांग्रेसबाट सिफारिस भइसकेका छन् । त्यस्तै सागर ढकाललाई पनि रास्वपाले सांसदको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
दुबै जना सांसद उम्मेदवारका लागि पार्टीबाट सिफारिस भएसँगै एकअर्का विरुद्ध प्रतिस्पर्धा हुने उच्च सम्भावना रहेको छ । २०७९ सालमा भएको निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दा देउवाले २५ हजार ५ सय ३४ मत ल्याउँदै स्वतन्त्र उम्मेदवार बनेका सागरलाई १२ हजार बढी मतान्तरले सहजै जित निकालेका थिए । सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए । तर, जेनजी आन्दोलनपछि राजनीतिक वातावरण फेरिएको छ ।
२०४८ सालदेखि लगातार ७ पटक सांसदको चुनाव लड्दा कहिल्यै हार नचाखेका देउवालाई पराजित गर्दै इतिहास रच्ने सुनौलो मौका सागरले प्राप्त गरेका छन् । पराजित गर्न सफल भएको खण्डमा देउवालाई सांसदको चुनावमा हराउँने सागर पहिलो र अन्तिम उम्मेदवार बन्न सक्नेछन् ।
