सुदन किराती भन्छन् –
एउटा संसदले चुनाव जित्न १० करोड खर्च गर्नुपर्छ ! तीन महिना देखि चुनाव लाग्छ । गाडी-घोडा दिनमा चार-पाँच वटा रिजर्भ । पाँच-सात वटा होटलहरू रिजर्भ । बहुराष्ट्रिय कम्पनीका रक्सीहरू । साथीभाइ सबैले लोकल रक्सी छोडेको हुन्छ त्यो बेलामा :
“निर्वाचन प्रणाली यति खराब छ ! म त चारचोटी लढेको मान्छे हो नि । निर्वाचन आयोगले एउटा संसद् उम्मेदवारलाई २८ लाखको सीमा दिएको छ – त्यति उसले निर्वाचनमा खर्च गर्न पाउने भनेर । तर पाँच करोड, दस करोड खर्च गरेर आउँछन् । कतिले त टिकट नै बेच्ने गर्छन् । भ्रष्टाचारको किरा त त्यहीँबाट पस्छ । यो निर्वाचन प्रणाली त सुधार्नै पर्छ ।
म तपाईंलाई एउटा उदाहरण दिन्छु । भोजपुर मेरो आफ्नै जिल्ला हो । त्यो जिल्ला एउटा मात्र निर्वाचन क्षेत्र हो । त्यहाँबाट म तीन पटक जितेर आएको हुँ । भोजपुरमा १६८ वटा मतदान केन्द्र छन् । निर्वाचनको दिन मात्रै एउटा बुथमा एक लाख दिन्छु भन्दा पनि मान्दैनन् । सबै भोटरलाई नास्ता- खाना खुवाउने चलन छ त्यहाँ । ‘यति एक लाखले के हुन्छ ?’ भनेर मान्दैनन्, कोही मान्दैनन् ।
एउटा ठाउँ हेर्दा पो एक लाख हो त – १६८ ठाउँ हेर्दा कति हुन्छ त्यो ? एक करोड ६८ लाख होइन ? तीन महिना देखि चुनाव लाग्छ । गाडी-घोडा दिनमा चार-पाँच वटा रिजर्भ । पाँच-सात वटा होटलहरू रिजर्भ । बहुराष्ट्रिय कम्पनीका रक्सीहरू । साथीभाइ सबैले लोकल रक्सी छोडेको हुन्छ त्यो बेलामा ।
यति महँगो चुनाव छ तपाईँको । नेता ल्याउनुपर्यो हेलिकप्टरबाट । पोस्टर-पम्पलेट बनाउनुपर्यो । सारा कुरा गर्दा कहाँ पुग्छ ? कहाँ यहाँ तल्लो वर्गको मान्छेले चुनाव लड्न सक्छ ? नसकिने भयो । त्यही कारणले फ्रस्ट्रेसन आयो क्या !
योगदान गरेको गर्यै गरेको गर्यै गर्ने राम्रो मान्छेले पनि खर्च गर्न नसक्दा चुनाव लड्न सक्दैन । त्यसैले अर्को ठेकेदार लिएर आएर चुनाव लडाउनु पर्यो ।”
