आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्ने क्रम तीव्र बनेको छ। समानुपातिकतर्फको बन्द सूची निर्वाचन कार्यालयमा बुझाइसकेपछि दलहरू प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा व्यस्त देखिएका छन्।
यसैक्रममा रुकुमपश्चिमबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोपाल शर्मा र उनकी पत्नी अञ्जु दहित दुवै जना उम्मेदवार बनेपछि पार्टीभित्र विवाद चर्किएको छ। गोपाल शर्मा रुकुमपश्चिमबाट प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् भने उनकी पत्नी अञ्जु दहित समानुपातिकतर्फको बन्द सूचीमा समेटिएकी छन्।
नेकपाले निर्वाचन कार्यालयमा बुझाएको समानुपातिक बन्द सूचीमा अञ्जु दहितको नाम थारु क्लस्टरबाट दोस्रो नम्बरमा राखिएको छ। पार्टीले जेन–जी आन्दोलनपछि परिवारवाद अन्त्य गरिएको, युवाहरू र नयाँ अनुहारलाई मात्र समानुपातिक सूचीमा प्राथमिकता दिइएको दाबी गर्दै आए पनि एकै परिवारका श्रीमान–श्रीमती दुवै उम्मेदवार बनेपछि उक्त दाबीमाथि प्रश्न उठेको छ।
पार्टीभित्र रुकुमपश्चिमबाट अन्य नेताहरू पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक रहेकामा अन्तिममा गोपाल शर्माको नाम एकल रूपमा सिफारिस गरिएको भन्दै असन्तोष व्यक्त गरिएको छ। यही कारण उम्मेदवार छनोट प्रक्रिया पारदर्शी नभएको आरोपसमेत पार्टीभित्रै उठेको छ।
समानुपातिक उम्मेदवार बनेकी अञ्जु दहित २०७९ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर पराजित भएकी थिइन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा भने नेकपा माओवादी केन्द्रबाट बर्दियाको बारबर्दिया नगरपालिकाको नगर उपप्रमुखमा निर्वाचित भएकी थिइन्। त्यसपछि २०७९ सालको प्रदेशसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर–१ प्रदेशसभा २ बाट प्रत्यक्ष उम्मेदवार बनेकी उनी ११ हजार ४९० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएकी थिइन्।
श्रीमान गोपाल शर्मा भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा रुकुमपश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। सोही कार्यकालमा उनी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका थिए।
शर्मा दम्पती दुवै जना उम्मेदवार बनेपछि पार्टीभित्र आलोचना सार्वजनिक रूपमै देखिन थालेको छ। नेकपाकी केन्द्रीय सदस्य लक्ष्मी पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘श्रीमान प्रत्यक्षतर्फ र निर्वाचन हारेकी श्रीमती समानुपातिकमा, वा रे पावर’ भन्दै तीव्र असन्तोष व्यक्त गरेकी छन्।
उम्मेदवार छनोटको यो विषयले नेकपाभित्र परिवारवाद, अवसर वितरण र आन्तरिक लोकतन्त्रबारे बहस चर्काएको छ। आगामी दिनमा यस विषयमा पार्टी नेतृत्वले कस्तो निर्णय र स्पष्टता दिन्छ भन्नेमा राजनीतिक वृत्तको चासो बढेको छ।
