• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आमरण अनसनमा बसेका महिला नेतृहरूलाई पार्टीको केन्द्रीय कार्यालयमै बाहिरबाट ताला लगाएर थुनिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र परिवारवाद र अवसरवाद हावी भएको आरोप लगाउँदै आमरण अनसनमा बसेका महिला नेतृहरूलाई पार्टीको केन्द्रीय कार्यालयमै बाहिरबाट ताला लगाएर थुनिएको घटनाले गम्भीर विवाद उत्पन्न गरेको छ।

पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति आपत्ति जनाउँदै पार्टी कार्यालयमै आमरण अनसन सुरु गरेका थिए । उनीहरूले समानुपातिक सूची समावेशी, न्यायोचित र त्याग–संघर्षको आधारमा बन्नुपर्नेमा पहुँच, नातावाद र अवसरवादका आधारमा तयार पारिएको आरोप लगाएका छन् ।

महिला नेतृहरूले विशेष गरी समानुपातिक सूचीमा खुशबु ओली तथा पार्टीका एक उपाध्यक्षकी श्रीमतीलाई समावेश गरिएको विषयप्रति गम्भीर आपत्ति जनाएका छन् । लामो समयदेखि पार्टीका लागि सङ्घर्षरत, सङ्गठन निर्माणमा सक्रिय तथा योगदान दिएका महिला नेतृहरूलाई पाखा लगाएर पारिवारिक र व्यक्तिगत सम्बन्धका आधारमा नाम समावेश गरिएको उनीहरूको आरोप छ।

उक्त विरोध कार्यक्रम अन्तर्गत पार्टी कार्यालयमै आमरण अनसनमा बसेका महिला नेतृहरूलाई बाहिरबाट चाबी लगाएर कार्यालयभित्रै थुनिएको उनीहरूले बताएका छन्। शान्तिपूर्ण रूपमा भइरहेको आन्दोलनलाई दबाउन यस्तो गैरलोकतान्त्रिक, अमानवीय र निन्दनीय व्यवहार गरिएको भन्दै उनीहरूले कडा आक्रोश व्यक्त गरेका छन्।

अनसनरत महिला नेतृहरूले पार्टी नेतृत्वसँग समानुपातिक सूची तत्काल सच्याउन, परिवारवाद र अवसरवाद अन्त्य गर्न तथा पार्टीभित्र महिलाको सम्मानजनक, समान र न्यायोचित सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । माग पूरा नभएसम्म अनसन नतोड्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यस घटनाले राप्रपाभित्रको आन्तरिक लोकतन्त्र, महिला अधिकार र समावेशी राजनीतिमाथि गम्भीर प्रश्न उठाएको छ। पार्टी नेतृत्वको तर्फबाट भने हालसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖