काठमाडौं । हाम्रो नेपाली पार्टीका सभापति खगेन्द्र सुनार र उपसभापति डा.नमिता यादव काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’को टिमबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य बनेपछि उक्त पार्टीभित्र असन्तुष्टि सतहमा आएको छ । पार्टीका अर्का उपसभापति तथा सुनारका विश्वासपात्र मानिने केशव परियारले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेस फर्किएको घोषणा गरेका छन् ।
व्यवसायीसमेत रहेका परियार लामो समयदेखि खगेन्द्र सुनारको आर्थिक र सङ्गठनात्मक खम्बाका रूपमा उभिँदै आएका थिए । तर सभापति सुनारले आफ्नो नेतृत्वमा रहेको दललाई नै बेवास्ता गर्दै अर्को पार्टीमा समाहित भएको निर्णय गरेपछि आफू र सिङ्गो दलित समुदाय अलपत्र परेको महसुस भएको परियारको भनाइ छ ।
शनिवार साँझ फेसबुकमा स्ट्याटस लेख्दै परियारले आफू विगत लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व पङ्क्तिमा रहेर दलित समुदायको हक–अधिकारका लागि लड्दै आएको स्मरण गराएका छन् ।भावनात्मक आवेगमा समुदायको छुट्टै पार्टी बनाउने प्रयासस्वरूप ‘हाम्रो पार्टी नेपाल’को उपसभापति बनेर नयाँ नेतृत्व निर्माण गर्ने प्रयास गरेको भए पनि पार्टी नेतृत्व नै अर्को दलमा समाहित भएपछि त्यो प्रयास अधुरो बनेको उनले उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टी नेपालको नेतृत्व गरेको पार्टी सभापतिले अर्को पार्टीमा समाहित भएको कुराले म र मेरो सिङ्गो समुदाय नै अलपत्र परेको महसुस भएको छ,’ परियारले स्ट्याटसमा लेखेका छन्, ‘यस्तो विषम परिस्थितिमा समुदायको हक र अधिकार सुरक्षित गर्न नेपाली कांग्रेस बाहेक अरूबाट सम्भावना नभएको महसुस गरी म पुनः नेपाली कांग्रेस पार्टीभित्रै रहेको कुरा जानकारी गराउँछु ।’
उनले अब कांग्रेसको विधि, विधान र अनुशासनभित्र रहेर दलित समुदायको उत्थानका लागि निरन्तर अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । खगेन्द्र सुनार र डा।नमिता यादव रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै ‘‘हाम्रो पार्टी नेपाल’ व्यावहारिक रूपमा निष्क्रिय बन्दै गएको छ । दलित अधिकार र मुक्ति आन्दोलनको नाममा सुरु भएको पार्टी अन्ततः नेताको व्यक्तिगत राजनीतिक व्यवस्थापनमा सीमित भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
केशव परियारको कांग्रेस फिर्तीलाई सुनार नेतृत्वको पार्टीप्रति बढ्दो असन्तुष्टि र दलित राजनीति भित्रको गहिरिँदो विभाजनको सङ्केतका रूपमा हेरिएको छ ।
