काठमाडौ । काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका बालेन्द्र शाह बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आधार क्षेत्र मानिने झापा–५ लाई चुनावी मैदान बनाउने संकेत गरेका छन् ।
०४८ यताका सात निर्वाचनमध्ये छपटक ओलीले जितेको यो क्षेत्रमा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै रास्वपाले रणनीतिक तयारी थालेको छ । स्थानीय अभियन्ता र जेन–जी समूहसँगको भेटमा बालेनले दमक क्षेत्रमा डेरा खोज्न निर्देशन दिँदै तल्लो तहको संगठनात्मक तयारी थाल्न भनेका छन् ।
४ माघमा मेयरबाट राजीनामा, ५ माघमा जनकपुरमा हुने रास्वपाको मधेश प्रदेश भेलामा सहभागिता र ६ माघमा झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय भएको स्रोतको दाबी छ ।
विश्लेषकहरूका अनुसार सहरी क्षेत्र दमक, युवा मतदाता र जेन–जी प्रभावलाई मध्यनजर गर्दै बालेनले अनुसन्धान र मतदाताको मनोविज्ञान बुझेरै झापा–५ रोजेका हुन्, जसले यस क्षेत्रलाई अब कुनै दलको ‘गढ’ भन्दा प्रतिस्पर्धात्मक चुनावी मैदान बनाउने संकेत गर्दै सारा देशको ध्यान यता केन्द्रीत गराएको छ ।
