काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापामा चुनाव जित्ने चर्चा केवल दिवास्वप्न मात्र भएको टिप्पणी गरेका छन्। शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको गहिरो प्रभाव रहेको भन्दै त्यहाँ बालेन शाहको कुनै राजनीतिक आधार नरहेको दाबी गरे।
बस्नेतका अनुसार बालेन शाहको टोली झापा पुग्दा स्थानीयस्तरमै अस्वीकृति भोग्नुपरेको थियो। उनले बालेनले झापामा पार्टी कार्यालय खोल्ने र भाडामा बस्ने प्रयोजनका लागि कोठा खोज्दा समेत घरधनीले घर नदिएको दाबी गरे। ४५ वर्षदेखि केपी ओलीले रगत–पसिना बगाएर बनाएको राजनीतिक आधार भएको झापामा बालेनका लागि कुनै स्थान नभएको उनको भनाइ छ।
‘झापाको माटो–माटो र घर–घरले केपी ओलीलाई अभिभावकका रूपमा स्वीकार्छ,’ बस्नेतले भने, ‘बासका लागि एउटा कोठासमेत नपाउनेले ओलीको गढ भत्काउँछु भन्नु हास्यास्पद कुरा हो। बालेनसँग न त संगठन छ, न त झापाली जनतासँग कुनै पुरानो सम्बन्ध नै छ।’
पर्यटक शैलीमा आएर चुनाव जित्न नसकिने उल्लेख गर्दै बस्नेतले बालेनले झापामा कहिल्यै राजनीतिक गतिविधि नगरेको आरोप लगाए। उनले एकाएक देखिएर चुनाव जित्ने सोच व्यवहारिक नभएको बताए।
बस्नेतले केपी ओलीले झापाका जनताको सुख–दुःखमा साथ दिँदै शिक्षा, विकास र पूर्वाधार निर्माणमा योगदान गरेको उल्लेख गर्दै यही कारण झापाली जनताले बालेनलाई पहिल्यै अस्वीकार गरिसकेको दाबी गरे।
काठमाडौंमा सुकुम्बासी र गरिबमाथि डोजर चलाएर कठोर छवि प्रस्तुत गरेको आरोप लगाउँदै बस्नेतले बालेन शाहको लोकप्रियता ओरालो लागेको पनि बताए। उनका अनुसार बालेन अब जहाँबाट उम्मेदवार बने पनि जित्ने अवस्थामा छैनन्।
‘बालेनजी पत्तासाफ भइसक्नुभएको छ,’ बस्नेतले भने, ‘झापा वा भक्तपुर आउनु पर्दैन, यदि आँट छ भने आफ्नै गृहजिल्ला महोत्तरीबाट चुनाव लडेर देखाउनुस्।’
