• Sunday 29th of November 2026

एमाले सचिव महेश बस्नेतले आगामी निर्वाचनमा रास्वपाका सभापति रवि लामिछानेलाई बहिष्कार गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बहिष्कार गर्ने घोषणा गरेका छन्। काठमाडौँमा आयोजित पार्टीको निर्वाचन केन्द्रित विशेष जनसभामा बोल्दै बस्नेतले एमाले अब लामिछानेलाई राजनीतिक रूपमा स्वीकार नगर्ने र जनस्तरबाटै उनलाई अस्वीकार गर्ने अभियानमा अघि बढ्ने बताएका हुन्।

बस्नेतले रवि लामिछानेलाई सहकारी ठगी प्रकरणसँग जोड्दै गम्भीर आरोप लगाएका छन्। उनले लामिछानेमाथि विभिन्न मुद्दा लागेको दाबी गर्दै एमालेको एजेन्डा नै “रवि लामिछाने बहिष्कार” भएको स्पष्ट पारे। “सहकारी ठग रवि लामिछाने बहिष्कार। उनलाई लखेट्ने हो। यसपालिको आन्दोलनको एजेन्डा यही हो,” भन्दै बस्नेतले चुनावी अभियान आक्रामक हुने संकेत दिए।

उनले लामिछाने धेरै कानुनी विवादमा जेलिएको व्यक्ति भएको दाबी गर्दै नेपाली जनताले यस्तो व्यक्तिलाई निर्वाचनमा साथ नदिने पनि बताए। बस्नेतले रास्वपा सभापतिमाथि व्यक्तिगत जीवनसम्बन्धी आरोपसमेत लगाउँदै उनी राजनीतिक रूपमा असफल हुने दाबी गरे।

एमाले सचिवको यस अभिव्यक्तिले आगामी निर्वाचनमा प्रमुख दलहरूबीचको राजनीतिक टकराव थप चर्किने संकेत देखिएको छ। विशेष गरी नयाँ दल र स्थापित दलबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको अवस्थामा बस्नेतको यो अभिव्यक्तिलाई चुनावी रणनीतिका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖