काठमाडौं । पूर्वमन्त्री इस्तियाक राई (बाँके), पूर्वमन्त्री प्रदीप यादव (पर्सा), वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित १४ जना वडा अध्यक्षहरू तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारी (सुनसरी)लाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतले पार्टीमा स्वागत गरेका छन्।
आइतबार आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेपछि पार्टी नेतृत्वले बाँके, पर्सा र सुनसरी जिल्लामा एमालेको राजनीतिक स्थिति थप मजबुत भएको दाबी गरेको छ। अध्यक्ष ओलीले एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै विकास, सुशासन र स्थायित्वका पक्षमा जनमत तीव्र रूपमा बढिरहेको बताए।
कार्यक्रममा सचिव महेश बस्नेतले पछिल्लो समय अन्य दलका जिम्मेवार नेताहरू एमालेमा आकर्षित हुनु पार्टीको नीति, नेतृत्व र कार्यदिशाप्रति जनविश्वास बढ्दै गएको संकेत भएको बताए। उनले तीनवटै जिल्लामा आगामी निर्वाचनमा एमालेको विजय अब सुनिश्चित भइसकेको दाबी गरे।
नवप्रवेशी नेताहरूले एमालेको संगठन, नेतृत्व र राष्ट्रहित केन्द्रित राजनीतिक एजेन्डाबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन्। उनीहरूले आगामी दिनमा पार्टीको नीति कार्यान्वयन र जनसेवामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
