हेटौँडा ।नेकपा (एमाले) मा ३४ वर्षदेखि निरन्तर सक्रिय रहेका मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएसँगै रामचन्द्रले एमाले छाड्ने निर्णय सार्वजनिक गरेका हुन् ।
रामचन्द्रले २०४८ सालदेखि गाँसिएको एमालेसँगको लामो सम्बन्ध तोडेको बताएका हुन् । २०४८ मा प्रथम बालसहिद अनिश शाक्यको हत्याको विरोध गर्दै सांस्कृतिक कार्यक्रम (नाटक) मा अनिश शाक्यकै भूमिका निर्वाह गरेर आफ्नो राजनीतिक यात्रा सुरु गरेको उनले बताएका छन् । उनले अहिलेको नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै एमाले छाडेका हुन् । वर्तमान एमाले नेतृत्वको सरकारले युवाहरूको आवाजलाई दमन गरेको र परिवर्तनको चाहनालाई उनले ‘आतंकवाद’ को संज्ञा दिएको उनले बताए ।
‘आज आफ्नै नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकारले निर्ममतापूर्वक युवाहरूको हत्या गरी, युवा आवाजलाई दमन गर्ने र उनीहरूको परिवर्तन (भ्रष्टाचार, नातावाद, कृपावाद, बेथिति, अन्याय हटाउने) को चाहनालाई आतंकवाद र आतंककारी साबित गर्न निरन्तर लागिरहेको छ । यस्तो कार्यप्रति गम्भीर असहमति जनाउँदै म पार्टी परित्यागको घोषणा गर्दछु ।’ उनले भने ।
उनले पार्टीभित्र पछिल्लो समय व्यक्तिवाद र मनोमालिन्य हाबी भएको बताए । उनका छोरा प्रशान्त उप्रेतीले आसन्न निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट रास्वपाको टिकट प्राप्त गरेका छन् । रास्वपाबाट टिकट पाए लगत्तै मनोनयन दर्ता गरेपछि रामचन्द्रले पार्टी छाडेका हुन् ।
