• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘१९ नानीबाबुको मृत्युले मनमा कहिल्यै नमेटिने घाउ दिएको छ’:ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते संसद भवन आसपास भएको हिंसात्मक घटनाबारे सार्वजनिक रूपमा विस्तृत प्रष्टीकरण दिएका छन्। आफूले कहिल्यै गोली चलाउने आदेश नदिएको दाबी गर्दै ओलीले उक्त घटना राज्यविरुद्धको संगठित आक्रमणको परिणाम भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जारी बयानमा ओलीले पछिल्ला दिनहरूमा आफूविरुद्ध गलत प्रचार भइरहेको आरोप लगाउँदै भने,
“संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिने अधिकार दिएको छैन, मैले न आदेश दिएको छु न त सोच्न सक्छु।”

‘१९ नानीबाबुको मृत्युले मर्माहत छु’

घटनामा ज्यान गुमाएका १९ जना नानीबाबुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले यो पीडा आजसम्म पनि आफ्नो मनमा बोकेर हिँडिरहेको बताएका छन्। घटनालगत्तै पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण पनि उनले गराए।

शान्तिपूर्ण आन्दोलन कसरी हिंसामा बदलियो

ओलीका अनुसार माइतीघरबाट सुरु भएको शान्तिपूर्ण आन्दोलन करिब १२ बजेपछि घुसपैठ गर्ने समूहका कारण बिथोलिएको थियो।
आयोजकहरूले घर फर्किन आग्रह गर्दा पनि योजनाबद्ध रूपमा बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर निषेधित क्षेत्रतर्फ लगिएको उनको आरोप छ।

उनले भनेका छन्,
“संसद भवनमा आगजनीको प्रयास र विष्फोटक प्रयोग भएपछि त्यो आन्दोलन रहेन, त्यो राज्यविरुद्धको हमला बन्यो।”

‘गोली सरकारको आदेशमा होइन, कानुन अनुसार चलेको हो’

ओलीले संसद भवनभित्र सुरक्षाकर्मीमाथि प्रत्यक्ष आक्रमण भएपछि मात्रै गोली चलेको स्पष्ट पारे।
“सुरक्षाकर्मीले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्,” उनले भने, “त्यो दिन पनि कानुनकै दायराभित्र बल प्रयोग भयो।”

‘यदि संसद भवन जलेको भए के हुन्थ्यो’

ओलीले प्रश्न उठाउँदै भने,
“यदि सुरक्षाकर्मीले हतियार खोसिन दिएका भए, संसद भवन जलेको भए, के ज्यान जाने थिएन ? विस्फोटकसहित आएका समूह त्यसै फर्किन्थे ?”

उनका अनुसार पछिल्ला घटनाहरूले ती समूहहरूको उद्देश्य अराजकता फैलाएर देशलाई हिंसातर्फ धकेल्ने रहेको स्पष्ट देखाएको छ।

खुला बहसको चुनौती

आफू कुनै पनि मञ्चमा बसेर प्रश्नको जवाफ दिन तयार रहेको ओलीले बताएका छन्। गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गर्दै अन्त्यमा उनले गम्भीर प्रश्न छोडेका छन्,

“माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी लग्यो ? यसको जवाफ खोजिनै पर्छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖