• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

श्रीमानसहित दुई जनाको हत्या भएको घटनामा श्रीमती र प्रेमी पक्राउ


  • धनकुटा खबर
  • .

बारा । बाराको परवानीपुर गाउँपालिकामा विवाहेतर सम्बन्धका कारण एकै परिवारका दुई जनाको विभत्स हत्या भएको घटनामा दुई जना पक्राउ परेका छन् । प्रहरीले उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोपमा मृतककी श्रीमती र उनका प्रेमी भनिएका व्यक्तिलाई पक्राउ गरेको हो।

सोमबार बिहान परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतेका परिवारमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको थियो। उक्त आक्रमणबाट जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनामा घरमुली ५० वर्षीय जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको हाल एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले बताए ।

उनकै कमाण्डमा खटिएको अनुसन्धान टोलीले घटनाको मुख्य कारण विवाहेतर सम्बन्धबाट सिर्जित घरायसी विवाद रहेको निष्कर्ष निकालेको छ। प्रहरीले हत्या योजनामा संलग्न रहेको आरोपमा मृतक राम ईश्वरकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी भनिएका प्रसौनी गाउँपालिका-७ बन्जरिया टोल बस्ने २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार आरोपी धर्मेन्द्र महतो धानुक वैदेशिक रोजगारीका शिलशिलामा युएईमा थिए। उनी गत माघ ११ गते नेपाल फर्किएका थिए। तर, नेपाल आएपछि उनी आफ्नो घर परिवारको सम्पर्कमा नगई मनिता देवीसँग मिलेर हत्याको योजना बनाउन सक्रिय रहेको पाइएको छ।

घटनापछि फरार रहेका धर्मेन्द्रलाई प्रहरीले विश्रामपुर गाउँपालिका-४ मुसहर्वा नाका हुँदै भारततर्फ भाग्न लागेको अवस्थामा पक्राउ गरेको हो। त्यस्तै, अर्की आरोपी मनिता देवी मण्डल पनि घटनामा घाइते भएकामा अस्पतालमा उपचार गराएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध बारा जिल्ला अदालतबाट बिहीबार ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖