• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। मेयर बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।

शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। उनले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ । हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अरु सामान पनि चोरी भएको-नभएको भन्नेबारे थप खुलाइएको छैन ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ। घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖