• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालेनको प्रचारमा जांदा बेहोस भएका सिटौलालाई ब्रेन हेमरेज,टाउकोमा गम्भिर चोट


  • धनकुटा खबर
  • .

काठमाडौ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन्। अस्पताल स्रोतका अनुसार हाल उनलाई काठमाडौँस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा राखेर उपचार भइरहेको छ।

सिटौला हिजो अछाममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार कार्यक्रममा सहभागी भइरहेका बेला एक्कासी बेहोस भई ढलेका थिए। बेहोस भएर लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको पुष्टि भएको छ, जुन ब्रेन हेमरेजको अत्यन्त गम्भीर प्रकार मानिन्छ। अस्पताल आइपुग्दा उनको चेतनास्तर निकै न्यून रहेको र अवस्था अत्यन्त जटिल रहेको चिकित्सकहरूले बताएका छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार अस्पताल ल्याइनु अघि घटनास्थलमै करिब ४५ मिनेटसम्म सिटौलाको मुटुको चाल बन्द भएको थियो। त्यसपछि सीपीआरको माध्यमबाट मुटुको चाल पुनः सञ्चालन गरिएको थियो। लामो समयसम्म मुटुको चाल बन्द रहेकाले उपचारको नतिजा जटिल हुनसक्ने चिकित्सकहरूको भनाइ छ। हाल उपचार जारी रहे पनि आगामी ४८ देखि ७२ घण्टा अत्यन्त निर्णायक हुने बताइएको छ। यस अवधिमा चेतनास्तरमा सुधार आएमा थप उपचारको दिशाबारे निर्णय गरिनेछ।

चिकित्सकहरूका अनुसार यति गम्भीर अवस्थामा छिटो सुधार आउने सम्भावना न्यून हुन्छ। सब–अरैक्नोइड हेमरेज प्रायः मस्तिष्कको नसामा भएको एन्युरिज्म (नसा फुल्नु) फुट्दा हुने गर्दछ। यस्तो समस्या धेरै व्यक्तिमा पहिलेदेखि नै रहे पनि लक्षण नदेखिने भएकाले समयमै पहिचान गर्न कठिन हुने चिकित्सकहरूको भनाइ छ। अचानक रक्तचाप बढ्नु, अत्यधिक तनाव वा अन्य कारणले एन्युरिज्म फुट्न सक्ने बताइएको छ।

चिकित्सकका अनुसार यो समस्या प्रायः ६० वर्षभन्दा माथिका व्यक्तिमा देखिने भए पनि केही अवस्थामा कम उमेरका व्यक्तिमा पनि देखिन सक्छ। हाल सिटौलाको शरीरमा केही न्यून प्रतिक्रिया देखिएकोले चिकित्सक टोलीले अवस्था निरन्तर मूल्याङ्कन गर्दै उपचार जारी राखेको जनाएको छ।

तर अवस्था अत्यन्त गम्भीर रहेकाले उनी पूर्ण रूपमा निको हुने वा दीर्घकालीन असर पर्ने–नपर्नेबारे अहिले नै ठोस निष्कर्ष निकाल्न नसकिने अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖