काठमाडौ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी सहयोगको आग्रह गरेका छन्। आइतबार भएको तीन शीर्ष नेताबीचको भेटमा ओलीले खासगरी आफ्नै निर्वाचन क्षेत्र झापा–५ र दाङमा सहयोग मागेको स्रोतले जनाएको छ। तर, सो प्रस्तावमा प्रचण्डले स्पष्ट रूपमा असहमति जनाउँदै ‘नो’ भनेको बताइएको छ।
स्रोतका अनुसार भेटवार्ताको मुख्य एजेन्डा निर्वाचन र त्यससँग सम्बन्धित सम्भावित तालमेल थियो। ओलीले झापा–५ मा आफू उम्मेदवार रहेको र दाङमा पार्टीका महासचिव शंकर पोखरेल उम्मेदवार भएकाले ती क्षेत्रहरूमा सहयोग आवश्यक रहेको धारणा राखेका थिए। देउवा आगामी निर्वाचनमा उम्मेदवार नरहे पनि कांग्रेसको प्रभावका कारण सहयोगको अपेक्षा गरिएको बुझिएको छ।
तर प्रचण्डले एमालेसँग चुनावी तालमेल गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। माओवादी केन्द्रका नेताहरूका अनुसार पार्टीले आफ्नै चुनावी रणनीति तय गरिसकेको र एमालेसँग सहकार्य गर्ने कुनै तयारी नरहेको सन्देश प्रचण्डले भेटमै स्पष्ट पारेका थिए। उनले वैचारिक र राजनीतिक भिन्नता कायम रहेको भन्दै तालमेल सम्भव नहुने धारणा राखेको स्रोतको दाबी छ।
देउवाले भने औपचारिक रूपमा कुनै प्रतिबद्धता जनाएका छैनन्। उनी उम्मेदवार नभएकाले कांग्रेसको आधिकारिक धारणा पार्टी संरचनामार्फत नै तय हुने संकेत दिइएको बताइएको छ। भेटमा देउवाले समग्र राजनीतिक परिस्थिति र चुनावी वातावरणबारे सामान्य छलफलमा सीमित रहेको स्रोतको भनाइ छ।
तीन शीर्ष नेताबीचको यो भेटले चुनाव नजिकिँदै जाँदा राजनीतिक संवाद बढेको संकेत गरे पनि तत्काल ठोस तालमेलको सम्भावना कमजोर देखिएको छ। विशेषगरी प्रचण्डको असहमतिले एमालेले खोजेको सहकार्यमा ब्रेक लागेको विश्लेषकहरू बताउँछन्।
