• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कार्कीले गरे यस्तो खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ र महावीर पुनलगायत व्यक्तित्वहरूलाई जेन–जीको दबाबका कारण आफूले हात जोडेरै सरकारमा सहभागी गराएको खुलासा गरेकी छन्। राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा ल्याउँदा “जति दिन बस्न सक्नुहुन्छ, बस्नुहोस्” भनेर आग्रह गरेको समेत बताइन्।

प्रधानमन्त्री कार्कीका अनुसार सरकारमा सहभागी भएर पछि राजीनामा दिई चुनावमा होमिएका चार मन्त्रीहरूबारे पहिल्यै जानकारी थियो। उनले भनिन्, “सरकारमै बसेर चुनाव लड्ने भन्ने हुँदैन। चुनावमा जान्छौँ भने राजीनामा दिएर जानू, हामी बिदाइ गरिदिन्छौँ भनेकै हो।” ती मन्त्रीहरू राजीनामा दिएर गएपछि अहिले सम्पर्कसमेत नरहेको उनको भनाइ छ।

कार्कीले व्यंग्यात्मक शैलीमा ती मन्त्रीहरूले सरकारमा बसेर कुनै लाभ नलिएको जिकिर गर्दै भनिन्, “खादा ओढाएर बिदा गरेका हौँ। तिनीहरूले चिया बाहेक केही लिएनन्, धेरै भयो भने मन्त्रालयको दुई कप चिया खाएका होलान्।” उनले ती सबै जेन–जीको दबाबमा सरकारमा आएका र त्यही दबाबकै कारण बाहिरिएको बताइन्।

प्रधानमन्त्रीले महावीर पुनलाई किताब बेच्दै गर्दा सुधन गुरुङले अँगालो हालेर सरकारमा ल्याएको प्रसंगसमेत सुनाइन्। जगदीश खरेल र बब्लु गुप्ता युवा नेता भएकाले उनीहरू चुनावमा जानै नपाउने भन्ने धारणा आफूलाई नलागेको पनि उनले स्पष्ट पारिन्। चार मन्त्रीलाई दोष नलगाउन आग्रह गर्दै बरु दोष दिनु छ भने आफूलाई दिनुपर्ने उनको भनाइ थियो।

महावीर पुन रिसाएर चुनावी मैदानमा गएको दाबी गर्दै कार्कीले उनले अघि सारेका दुई–चारवटा कानुनका प्रस्ताव मुलुकका लागि उपयोगी भए पनि छोटो समयका कारण ती कानुन बनाउन नसकिएको स्वीकार गरिन्। “ती कानुन राम्रै थिए, देशकै हितका लागि थिए, तर समय अभावले सहयोग गर्न सकिएन,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले राजनीतिमा रुचि नभएकाहरू सरकारमै बसेर अहिले पनि काम गरिरहेको उल्लेख गरिन्। साथै, सरकारमा रहेका मन्त्रीहरूलाई रास्वपाका भनेर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै त्यस्ता भ्रमबाट टाढा रहन आग्रह गरिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖