• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अखिल (क्रान्तिकारी) का विद्यार्थी नेता पक्राउ , तत्काल रिहाई गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौँ। अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । आज शान्तिपूर्ण आन्दोलन गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् ।

शुल्क शोषणविरुद्ध आन्दोलनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अगुवा विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै संगठनले कडा विरोध जनाएको छ।

अखिल (क्रान्तिकारी) का अनुसार त्रि.वि.मा भइरहेको शुल्क शोषणको विरोधमा अखिल (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिको अगुवाइमा ३४ दिनसम्म शान्तिपूर्ण रूपमा सञ्चालन भएको विद्यार्थी आन्दोलन २०८२ साल भदौ १० गते त्रि.वि. प्रशासनसँग लिखित सहमति भएपछि स्थगित गरिएको थियो। तर सहमति कार्यान्वयन गर्नुको सट्टा प्रशासनले आन्दोलनका अगुवा विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु निन्दनीय र आपत्तिजनक रहेको संगठनको ठहर छ।

पक्राउ पर्नेहरूमा अखिल (क्रान्तिकारी) का त्रि.वि. जिल्ला अध्यक्ष दिनेश एर, उपाध्यक्षहरू तेज प्रकाश संज्याल र शिव भट्ट तथा विक्की विष्ट रहेका छन्। संगठनले यस कदमलाई विश्वविद्यालय प्रशासनको निरंकुश र दमनकारी चरित्रको स्पष्ट उदाहरण भएको जनाएको छ।

अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विद्यार्थीको हक, हित र अधिकारका लागि आवाज उठाउनु अपराध नभएको उल्लेख गर्दै संवाद र सहमतिबाट समाधान गर्नुपर्ने विषयमा डण्डा र गिरफ्तारी प्रयोग गर्नु स्वयं प्रशासनको असफलताको स्वीकारोक्ति भएको बताइएको छ।

संगठनले तत्काल माग गर्दै पक्राउ परेका सबै विद्यार्थी नेताहरूलाई बिना सर्त रिहा गर्न, भदौ १० गते भएको सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न तथा शुल्क शोषण अन्त्य गर्दै आम विद्यार्थीका जायज माग तुरुन्त पूरा गर्न आग्रह गरेको छ।

यदि त्रि.वि. प्रशासनले दमनको बाटो नछाडेमा अखिल (क्रान्तिकारी) ले थप आन्दोलनात्मक कार्यक्रम अघि बढाउने चेतावनी पनि दिएको छ। संगठनका अनुसार आन्दोलन अब क्याम्पसमा मात्र सीमित नरही उपत्यकाभरि र देशव्यापी संघर्षमा रूपान्तरित हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी त्रि.वि. प्रशासन स्वयंले लिनुपर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖