काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन्।
झापावासीहरूसँगको भेटघाटका क्रममा बोल्दै उनले देश सञ्चालन कुनै खेल वा ठट्टा नभई गहिरो दर्शन, नीति, सिद्धान्त र अनुभव आवश्यक पर्ने गम्भीर जिम्मेवारी भएको बताए। ओलीले केवल भोट माग्ने बाहेक कुनै शासन अनुभव नभएकाहरूले सरकार चलाउने दाबी गर्नु अव्यवहारिक भएको उल्लेख गरे।
उनले अप्रत्यक्ष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहतर्फ लक्षित गर्दै एकपटक पनि आम निर्वाचनको अनुभव नलिएका व्यक्तिहरू प्रधानमन्त्री बन्ने सपना देख्दै हिँड्नु गलत भएको धारणा राखे।
ओलीले अमेरिका लगायतका विकसित मुलुकहरूमा पनि लामो अनुभव भएका व्यक्तिहरू नै सरकारको नेतृत्वमा रहने उदाहरण प्रस्तुत गर्दै अनुभव नै सफल शासनको आधार हुने दाबी गरे।
