• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सामाजिक संजालमा गलत सूचना शेयर गरे कडा कारबाही


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ २४ । निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल प्रयोग तीव्र बन्दै गएपछि नेपाल प्रहरीले अनलाइन गतिविधिमाथि उच्च निगरानी बढाएको छ। विशेषगरी युवा पुस्ता सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहेकाले संवेदनशील समयमा आवेगमा आएर गलत सूचना सेअर गर्ने, गालीगलौज गर्ने वा चरित्रहत्या हुने सामग्री पोस्ट गर्ने कार्य बढ्न सक्ने प्रहरीको निष्कर्ष छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जालको दुरूपयोग रोक्न विशेष टोली गठन गरी अनुगमन भइरहेको छ। साथै, प्रहरीको साइबर ब्यूरोले पनि अनलाइन माध्यमहरूको सूक्ष्म निगरानी गरिरहेको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक वा साम्प्रदायिक सद्भाव बिगार्ने, व्यक्तिको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री उत्पादन, प्रचार वा सेअर गर्नु कानुनतः अपराध हो।

प्रहरीले कुनै पनि घटना, अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रूपमा सम्पादन गरी अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ। त्यस्ता सामग्रीलाई लाइक, सेअर वा कमेन्ट गरेर प्रोत्साहन गर्नु पनि अपराधको श्रेणीमा पर्न सक्ने प्रहरीले स्पष्ट पारेको छ।

यसैगरी, अनलाइनमा देखिने कुनै पनि सामग्री शेयर गर्नुअघि त्यसको सत्यता र विश्वसनीयता पुष्टि गर्न प्रहरीको अनुरोध छ। कानुनविपरीतका सामग्रीको समर्थन वा प्रचारले कानुनी झमेलामा पर्न सक्ने भएकाले सचेत रहन प्रहरीले सबै नागरिकलाई आग्रह गरेको छ।

प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, ‘सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ। जिम्मेवार नागरिक बनौँ र समाजमा शान्ति तथा सद्भाव कायम राख्न सबैले सहयोग गरौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖