• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सुदन गुरुङ जेन-जी आन्दोलनका योद्धा हुन्, उनलाई संसद्‌मा पठाउनुपर्छ: रवि


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका युवा नेता सुदन गुरुङ जेन-जी आन्दोलनका योद्धा भएको बताउँदै उनलाई संघीय संसदमा पठाउनुपर्ने बताएका छन्।

शनिबार गोरखाका मतदातासँग कुराकानी गर्दै सभापति लामिछानेले गुरुङको खुलेरै प्रशंसा गरे।

सभापति लामिछानेले सुदन गुरुङको कार्यशैली र राजनीतिक परिपक्वतामा मानिसहरूले प्रश्न उठाउन सक्ने भए पनि उनको देशप्रतिको मायामा शंका गर्ने ठाउँ नरहेको स्पष्ट पारे।

लामिछानेले भने, ‘सुदन गुरुङ देशलाई माया गर्ने मान्छे हो। सुदन गुरुङका शैलीहरूमा र राजनीतिक परिपक्वतामा तपाईंहरूको प्रश्न होला। तर, सुदन गुरुङभित्र एउटा अबोध बालक छ, एउटा जिज्ञासु मानिस छ।’

उनले सुदन देशलाई माया गर्ने छोरो भएकोमा आफूलाई रत्तिभर शंका नरहेको जिकिर गरे।

लामिछानेले सुदन गुरुङलाई नयाँ पुस्ताको आन्दोलन र परिवर्तनको पक्षमा उभिने योद्धाको रूपमा चित्रण गरे। उनले भने, ‘जेन-जी आन्दोलनमा, घाइतेहरूका लागि र सहिद परिवारका लागि लड्ने र निरन्तर लडिरहने एउटा योद्धा हुन् सुदन गुरुङ।’

पार्टीभित्र र व्यक्तिमा केही कमजोरीहरू हुन सक्ने स्वीकार गर्दै लामिछानेले ती कमजोरीलाई सुधार्दै लैजाने र सबै साथीहरूले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति लामिछानेले सुदन गुरुङलाई विजयी गराएर नीति निर्माण तहमा पुर्‍याउनुपर्नेमा जोड दिए। ‘सुदन गुरुङलाई यहाँहरूले विजयी बनाएर संघीय संसदमा एउटा जोडदार आवाजको रूपमा प्रस्तुत गर्नुहुनेछ भन्ने कुराको जानकारी गराउन चाहन्छु,’ लामिछानेले भने।

रास्वपाले सुदन गुरुङ जस्ता युवाहरूलाई साथमै लिएर देश बनाउने अभियानमा अघि बढ्ने उनको भनाइ थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖