धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने निर्वाचनले देशमा व्याप्त कुशासन, भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने दाबी गरेका छन्।
धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यो निर्वाचन सामान्य सत्ता परिवर्तनको प्रक्रिया मात्र नभई राजनीतिक संस्कार परिवर्तन गर्ने अवसर भएको बताएका हुन्। उनका अनुसार अब जनताको अधिकारलाई हरेक चुनावमा घोषणापत्रमा लेखेर भोट माग्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
लामिछानेले यसपटक रास्वपाले पाँच वर्षको स्थायी सरकारको माग गरेको उल्लेख गर्दै स्थायित्वबिना विकास र सुशासन सम्भव नहुने बताए। “अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ। विगतमा जनताले सजाय भोगे, अब नेताले जवाफदेही हुनुपर्छ,” उनले भने। उनले परिणाममुखी शासन प्रणाली स्थापना गर्न आफूहरू प्रतिबद्ध रहेको दाबी गरे।
सभामा उनले भारतसहित विदेशमा रहेका नेपालीहरूलाई समेत छुट्टी मिलाएर भए पनि मतदानमा सहभागी हुन आग्रह गरे। विगतका चुनावमा सधैं नेताहरू जित्दै आएको तर यसपटक जनतालाई जिताउनुपर्ने बेला आएको उनको भनाइ थियो। उनले मत विभाजन नगर्न मतदातालाई आग्रह गर्दै परिवर्तन चाहने शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। लामिछानेले यो निर्वाचनमार्फत देशमा नयाँ राजनीतिक अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन्।
