धनगढी । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा कैलालीको धनगढीमा आयोजित चुनावी सभामा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूलाई रोक लगाइएको तथा दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाको धनगढीस्थित उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिए। सो कार्यक्रममा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीहरूलाई प्रवेशमै रोक लगाउँदै दुर्व्यवहार गरिएको महासङ्घले विज्ञप्तीमार्फत जनाएको छ।
महासङ्घका अनुसार आमसभा स्थलमा पुगेका पत्रकारहरूलाई रास्वपाको पास बिना प्रवेश नदिने भन्दै धक्का–मुक्का समेत गरिएको थियो।
“समाचार सङ्कलनका लागि गएका पत्रकारहरूलाई रास्वपाको पास बिना जान नमिल्ने भन्दै धक्का–मुक्का समेत गरिएको घटना निन्दनीय छ,” महासचिव शिवराज भट्टद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ “रास्वपाका कार्यकर्ताहरूले गरेको यस्तो कार्य नेपालको संविधानको प्रस्तावनामै भएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको प्रतिकूल भएको महासङ्घको ठहर छ। ”
महासङ्घले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएको उल्लेख गर्दै आसन्न निर्वाचनका सबै चुनावी कार्यक्रमहरूमा पत्रकारहरूलाई निर्बाध रूपमा समाचार सङ्कलन गर्न दिन निर्वाचनमा सहभागी सबै राजनीतिक दलहरूलाई अनुरोध गरेको छ।
साथै, प्रदेशभरिका सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै कुनै पार्टी वा उम्मेदवारको एकपक्षीय प्रचारमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ।
