• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा धनगढीका संस्थापक सभापति बिस्टद्वारा पार्टी परित्याग


  • धनकुटा खबर
  • .

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीका नेता ईश्वरी बिष्टले पार्टी परित्याग गरेका छन्। धनगढीका संस्थापक नगर सभापति समेत रहेका बिष्टले पार्टीको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

बिष्ट २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट रास्वपाका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले सुदूरपश्चिम प्रदेशमा रास्वपाबाट दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवारका रूपमा आफूलाई स्थापित गरेका थिए। त्यसबेला उनको उम्मेदवारीलाई पार्टीभित्र महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको थियो।

तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको कार्यशैली, निर्णय प्रक्रिया र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै बिष्टले असन्तुष्टि व्यक्त गरेका छन्। संगठनभित्र योगदानको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत गतिविधि बढ्दै गएको तथा नेतृत्व तहबाट एकपक्षीय निर्णय हुने प्रवृत्ति मौलाएको आरोप उनले लगाएका छन्। पार्टीले आन्तरिक लोकतन्त्र र पारदर्शितालाई कमजोर बनाएको उनको भनाइ छ।

“पार्टीभित्र योगदानको सम्मान र मूल्याङ्कन हुन सकेन। निर्णय प्रक्रियामा पारदर्शिता र विधि–विधानको पालना नभएको महसुस भएपछि पार्टीमा बसिरहनु उपयुक्त ठानेनँ,” बिष्टले बताएका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी पार्टीको सबै जिम्मेवारी र सदस्यताबाट अलग भएको स्पष्ट पारे।

पार्टी परित्यागसँगै बिष्ट यस पटक कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। आफूले जनतासँग प्रत्यक्ष सम्बन्ध राखेर स्वतन्त्र रूपमा अघि बढ्ने र क्षेत्रको विकासका मुद्दालाई प्राथमिकता दिने उनको भनाइ छ।

बिष्टको राजीनामाले कैलाली जिल्लाको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। विशेष गरी धनगढीमा रास्वपाको संगठन विस्तारमा सक्रिय भूमिका खेलेका नेताको बहिर्गमनले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖