काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ ।
उनले सामाजिक सञ्जालमार्फत सोमबार औपचारिक आह्वान गरेअनुसार विदेशबाट सहयोग गर्न चाहनेहरूका लागि ‘गिभ अ लिटिल’को लिंक सेयर गरेकी थिइन् । उक्त वेबसाइटमार्फत मंगलबार यो समाचार तयार पार्दासम्म ४७ हजार २५३ न्युजिल्याण्ड डलर सहयोग प्राप्त भएको हो । जुन आजको विनिमयदर अनुसार ४१ लाख रुपैयाँ भन्दा बढी हुन्छ । जुन सहयोग १ हजार ११२ जनाले गरेका हुन् ।
उनले उक्त वेबसाइटमार्फत १ लाख ३५ हजार न्युजिल्याण्ड डलर सहयोगको लक्ष्य लिएकी छन् ।
साम्बाको आह्वानपछि नेपालबाट पनि सहयोग संकलन भइरहेको छ । नेपाली कांग्रेसले समेत अखिल नेपाल फुटबल संघ एन्फामार्फत ५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै विभिन्न संघ संगठन र व्यक्तिगत तबरबाट पनि सहयोग आह्वान भइरहेको छ ।
हाल घुँडाको गम्भीर चोटका कारण उनी उपचारको तयारीमा छन् । तर, एन्फाले कुनै सहयोग नगरेको भन्दै उनले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी हुन् ।
