काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व सहायक महामन्त्री सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्। निर्वाचनको माहोल तीव्र बन्दै गइरहेका बेला उनले नयाँ राजनीतिक यात्रा रास्वपाबाट सुरु गरेका हुन्।
पार्टी प्रवेशसँगै रास्वपाले उनलाई औपचारिक जिम्मेवारी पनि प्रदान गरेको छ। उपसभापति डीपी अर्यालको संयोजकत्वमा रहेको संघीय निर्वाचन सम्पादन समितिमा सदस्यका रूपमा उनलाई समेटिएको छ। साथै, काठमाडौँ जिल्लाभित्र पार्टीसम्बद्ध विभिन्न क्षेत्रमा सहयोग र समन्वयको दायित्वसमेत उनलाई दिइएको छ।
शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ जिम्मेवारीप्रति आभार व्यक्त गरेका छन्। उनले उपसभापति डीपी अर्याल संयोजक रहेको समितिमा सदस्यका रूपमा काम गर्ने अवसर दिएकोमा पार्टीप्रति धन्यवाद ज्ञापन गरेका छन्।
उनले आगामी दिनमा पूर्ण इमानदारीका साथ, देशलाई केन्द्रमा राखेर आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।
यसअघि उनले पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै माघ अन्तिम साता राप्रपा त्यागेका थिए।
