राष्ट्रिय स्वतन्त्र पार्टी दाङका डेढ दर्जनभन्दा बढी नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
रास्वपा सम्बद्ध नेपाल–युएई प्रवास कमिटीका सचिव बलभद्र केसी र क्षेत्र नम्बर २ का सदस्य विजय केसीसहित करिब २० जनाले घोराहीमा पत्रकार सम्मेलन गर्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
उनीहरूले ‘जान्नेलाई छान्ने’ नारा कागजमै सीमित भएको, आर्थिक गतिविधिमा अपारदर्शिता देखिएको तथा टिकट वितरणमा आर्थिक लेनदेन भएको आरोप लगाएका छन्। स्थापनाकालदेखि संगठन विस्तारमा सक्रिय रहे पनि आफ्नो योगदानको मूल्यांकन नभएको उनीहरूको गुनासो छ।
निर्वाचन नजिकिँदै गर्दा दाङमा कार्यकर्ता बाहिरिन थालेपछि रास्वपाका उम्मेदवारमाथि थप दबाब बढेको आकलन गरिएको छ।
