• Monday 5th of October 2026

छोराको बिहे हेर्ने सपना अधुरै छोडेर बिदा भए रिंकू सिंहका बुवा


  • धनकुटा खबर
  • .

मुम्बई । भारतीय क्रिकेटका उदीयमान स्टार रिंकू सिंहमाथि ठूलो पारिवारिक बज्रपात परेको छ। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका उनका बुवा खानचन्द्र सिंहको आज बिहान ग्रेटर नोएडास्थित यथार्थ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

खानचन्द्र सिंहको एउटै सपना थियो, आफ्नो छोरा रिंकूलाई दुलाहा बनेको हेर्ने। उनले छोराको सफलताका लागि जति संघर्ष गरे, त्यति नै उत्साहका साथ छोराको विवाहको सपना पनि सजाएका थिए। तर नियतिको खेल अर्कै थियो।

छोराले क्रिकेटको मैदानमा सफलताको शिखर चुमेको र देशकै हिरो बनेको हेर्न पाए पनि उनलाई वैवाहिक बन्धनमा बाँधिएको देख्ने धोको भने अधुरै रह्यो। परिवारका लागि यो क्षण निकै पीडादायी बनेको छ।

रिंकू सिंह आज जुन स्थानमा छन्, त्यसको जग उनको बुवाको पसिनाले बनेको हो। खानचन्द्र सिंहको जीवन निकै अभाव र संघर्षमा बितेको थियो। उनले वर्षौंसम्म घरघरमा ग्यास सिलिन्डर पुर्‍याउने काम गरेर परिवारको गुजारा चलाए।

आर्थिक अवस्था यति कमजोर थियो कि कतिपय अवस्थामा बिहान–बेलुकाको छाक टार्न पनि मुस्किल हुन्थ्यो। तर यस्तो कठिन परिस्थितिमा पनि उनले हार मानेनन्। छोराछोरीको शिक्षा र आवश्यकता पूरा गर्न उनले दिनरात नभनी मेहनत गरे। रिंकूले पनि सानै उमेरदेखि बुवाको त्यो कडा परिश्रमलाई नजिकबाट देखेका थिए, जसले उनलाई क्रिकेटमा केही गरेर देखाउने उर्जा दियो।

रिंकूको क्रिकेट यात्रा अभावै अभावबाट सुरु भएको थियो। राम्रो जुत्ता र क्रिकेट किट किन्न समेत पैसा नहुने अवस्थाबाट उनले अभ्यास सुरु गरे। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै बिस्तारै आफ्नो पहिचान बनाएका रिंकू आईपीएलमार्फत रातारात स्टार बने।

आज उनी भारतीय राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् र विश्वभरका क्रिकेट प्रेमीका प्रिय छन्। उनको यो सफलताका पछाडि बुवाको त्याग र संघर्ष नै सबैभन्दा ठुलो शक्ति थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖