• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै रबिले भने – ६५८ दिन बितिसक्दा पनि खोइ त प्रमाण सार्वजनिक गरिएको?


  • धनकुटा खबर
  • .

चितवन । रवि लामिछाने ले सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे कांग्रेस सभापति गगन थापा लाई लक्षित गर्दै ६५८ दिन बितिसक्दा पनि प्रमाण सार्वजनिक गर्न नसकेको बताएका छन्।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूविरुद्ध प्रमाण रहेको दाबी गरिएको लामो समय बितिसक्दा पनि त्यसको पुष्टि हुन नसकेको भन्दै कटाक्ष गरे। उनले अब आफूलाई प्रमाण नचाहिएको टिप्पणीसमेत गरे।

उनले भने, “मलाई धेरै नबोल, तिखो नबोल, चर्को नबोल भन्छन्। म परे रवि लामिछाने। अलिअलि नघोची हुँदैन। मलाई टुच्च–टुच्च नघोचेको भए म पनि चुप लाग्थेँ। ठाउँ–ठाउँबाट घोचिरहन्छन्। ममाथि प्रमाण छ भनिएको ६५८ दिन भइसक्यो, अब चाहिँदैन प्रमाण। मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भयो। म चितवनबाट भन्छु—मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला।”

लामिछानेले सहकारी ठगी प्रकरणलाई लिएर राजनीतिक रूपमा आफूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए। उनले प्रमाणबिना आरोप लगाएर जनतालाई भ्रममा पार्ने काम भइरहेको दाबी गरे।

त्यस्तै, उनले आफ्नो दल मागेर देश बनाउने पक्षमा नरहेको स्पष्ट पारे। “हामी मागेर होइन, गरिखाने देश बनाउने पक्षमा छौं,” उनले भने, “आत्मनिर्भर र पारदर्शी शासनमार्फत देश परिवर्तन सम्भव छ।”

चुनावी माहोल तातेका बेला लामिछानेको यस अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गराएको छ। सहकारी प्रकरणबारे आरोप–प्रत्यारोप जारी रहँदा प्रमाण सार्वजनिक गर्ने विषय फेरि चर्चामा आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖