काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोध साँधेर आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरिए मुलुक अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।
गत भदौ २३ र २४ गतेको घटनाका विषयमा छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीसहितलाई कारबाही गर्न सिफारिस गरेपछि बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।
आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रतिवेदन बुझाएको छ । स्रोतका अनुसार त्यस प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसहितका पदाधिकारीलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ ।
त्यही विषयमा लोकान्तरलाई प्रतिक्रिया दिँदै एमाले सचिव बस्नेतले अहिलेको सरकार वा नयाँ बन्ने सरकारले आफ्नो नेतृत्वलाई धरपकड गर्न खोजे मुलुक द्वन्द्वमा जाने बताए ।
‘अहिले धरपकड नगर्ला । उसको सामु त अरू धेरै दायित्व छन् नि ! उसको सामु त २० लाख युवालाई रोजगारी दिन्छु भन्या छ, त्यो रोजगारी दिनुपर्ला । विदेश नजाने वातावरण बनाउँछु भन्या छ, विदेश जाने कुरा रोक्नुपर्ला, हैन,’ बस्नेतले थपे, ‘खाडीबाट धेरै युवा ल्याउनुपर्ने छ, त्यो कुरा रोक्नुपर्ला । अब प्रतिशोधपूर्ण ढंगले जाने कुरा बेठीक हो भनेर हिजो तर्क गरिरहनुभाछ, उहाँहरूले प्रतिशोध साँधेर जाने कुराले त मुलुक द्वन्द्वमा जान्छ नि ! मुलुक द्वन्द्वमा जानेभन्दा पनि निर्माणमा जाने कुराको म्यान्डेट दिएको होला नि त अहिले पब्लिकले ।’
अब बन्ने सरकारले वार्षिक आम्दानी ३ हजार डलर पुर्याउने, जीडीपी १०० खर्ब पुर्याउने भनेकाले सरकार त्यता लाग्नुपर्ने उनले बताए ।
