काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । आइतबार एक प्रेस नोट जारी गर्दै अलायन्सले सोमबार काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गर्ने जानकारी दिएको हो ।
आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले अलायन्सले बिहान ११ बजेदेखि १ बजेसम्म हातमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने तय गरेको छ ।
अलायन्सले गुपचुप राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने अडान राखेको छ । साथै, मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने माग समेत अघि सारेको छ ।
सरकारको कदमप्रति आपत्ति जनाउँदै अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हामीसँग गरेको सहमतिको बर्खिलाफ गर्दै अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना आसेपासेलाई नियुक्ति दिनु घोर आपत्तिजनक छ । राज्यका निकायहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने पुरानै प्रवृत्ति दोहोरिनु जनता र जेनजी जनआन्दोलनमाथिको कुठाराघात हो ।’
