काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति गगन थापाको राजीनामा औपचारिक रूपमा आइनसकेको बताएका छन्। रातोपाटीसँग कुरा गर्दै उनले सभापति थापाले राजीनामा दिएको चर्चा बाहिर आए पनि औपचारिक रूपमा राजीनामा दिएको कुनै जानकारी नरहेको बताएका हुन् ।
नेपाली कांग्रेसको विधानमा सभापतिले राजीनामा दिनुपर्ने भएमा उपसभापतिलाई दिनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ। सभापति थापाको राजीनामाबारे उपसभापति विश्वप्रकाश शर्मासँग जानकारी लिन खोज्दा सम्पर्क भएन ।
प्रवक्ता चालिसेले अनौपचारिक रूपमा राजीनामा दिएको भए शुक्रबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस भएपछि बल्ल जानकारी हुने बताए । काङ्ग्रेसी निर्वाचनको समीक्षा गर्न भन्दै शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ । विशेषगरी निवर्तमान संस्थापन समूहले सभापति थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइरहेको छ। तर थापा पक्षीय नेताहरूले भने राजीनामा दिएर समस्याको समाधान नहुने बताइरहेका छन्।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।
