• Monday 5th of October 2026

रोनाल्डोपछि ९०० गोलको आँकडा छुने दोस्रो खेलाडी बने मेस्सी


  • धनकुटा खबर
  • .

मियामी । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले व्यावसायिक फुटबल करियरमा ९०० गोल पूरा गर्दै इतिहास रचेका छन्। बुधबार राति कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्धको खेलमा गोल गर्दै ३८ वर्षीय मेस्सीले यो दुर्लभ कोशेढुङ्गा पार गरेका हुन्।

टेनेसीको जियोडिस पार्कमा भएको खेलको सातौँ मिनेटमै गोल गर्दै उनले विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डोपछि ९०० गोल गर्ने दोस्रो खेलाडीको रूपमा आफ्नो नाम दर्ता गराए। सन् २०२३ को जुनमा इन्टर मयामीमा आबद्ध भएयता मेस्सीले ९२ खेलमा ८१ गोल गरिसकेका छन्।

उनको उत्कृष्ट प्रदर्शनकै मद्दतले मयामीले लिग कप र एमएलएस कपको उपाधि जित्न सफल भएको छ। बार्सिलोनाबाट आफ्नो खेल जीवनको सुरुवात गरेका मेस्सीले त्यहाँ १७ वर्ष बिताउँदा ७७८ खेलमा ६७२ गोलको कीर्तिमान बनाएका थिए।

बार्सिलोनामा रहँदा उनले १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित अनगिन्ती उपाधि जितेका थिए। त्यसपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई सिजन बिताउँदा उनले ७५ खेलमा ३२ गोल थपेका थिए।

मेस्सीको गोल गर्ने शैली र तथ्याङ्क निकै रोचक छ। अप्टाको तथ्याङ्क अनुसार उनले आफ्ना ९०० गोलमध्ये ७५५ गोल देब्रे खुट्टाले गरेका छन् भने १११ गोल दाहिने खुट्टाले गरेका छन्। उनले ३० पटक टाउकोको प्रयोग (हेडर) बाट र ४ पटक अन्य तरिकाले गोल गरेका छन्।

उनले पेनाल्टीमार्फत ११२ र फ्रिकिकमार्फत ७० गोल गरेका छन्। मेस्सीले सबैभन्दा बढी गोल सेभिया (२५), एथलेटिक क्लब (२४) र एट्लेटिको म्याड्रिड (२३) विरुद्ध गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा पनि मेस्सीको दबदबा उस्तै छ। अर्जेन्टिनाका लागि १९६ खेल खेल्दै उनले ११५ गोल गरेका छन्। उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतार विश्वकपको उपाधि उचालेको थियो।

आठ पटकका बलोन डी’ओर विजेता मेस्सी अब आफ्ना पुराना प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान पछ्याइरहेका छन्। ४१ वर्षीय रोनाल्डोले सन् २०२४ को सेप्टेम्बरमा ९०० गोल पूरा गरेका थिए र हाल उनको नाममा ९५९ गोल छ।

फुटबल इतिहासमा आधिकारिक रूपमा ९०० गोल गर्ने मेस्सी र रोनाल्डो मात्र हुन्। ब्राजिलियन लिजेन्ड पेलेले १ हजारभन्दा बढी गोल गरेको दाबी गरे पनि तथ्याङ्कशास्त्रीहरूका अनुसार उनको आधिकारिक गोल संख्या ७७८ मात्रै हो। त्यस्तै ब्राजिलकै रोमारियोको नाममा ७८५ गोल छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖