काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएको भनी चर्चा भइरहेका बेला नेकपा (एमाले) का नेता सूर्य थापाले यसलाई राजनीतिक नाटकको संज्ञा दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले राजीनामाको चर्चा ‘बचकनापनको मजाक’ भएको बताएका हुन् ।
नेता थापाले राजीनामाको आधिकारिकतामाथि प्रश्न उठाउँदै भनेका छन् “राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत गायब छ। अझ यो स्टन्ट, फण्डा र मिलोमतो जस्तो मात्रै देखिन्छ।”
७८ वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसजस्तो पार्टीमा यस्ता गतिविधि हुनु दुखद भएको भन्दै उनले आलोचना गरेका छन्। यदि राजीनामा सत्य हो भने कांग्रेसको केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले यसको जिम्मेवारी लिएर आधिकारिकता पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।
“मोही माग्ने ढुंग्रो लुकाउने तरिका वाहियात भयो,” भन्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “राजीनामा दिने वा नदिने भन्ने कुरा सम्बन्धित व्यक्तिको ४८ वर्षे जीवन र जवानीको निर्णय होला, त्यसमा हामीलाई मतलब छैन। तर, यसरी गुमराहमा राख्ने काम हुनुहुँदैन।”
