काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा धेरै परिमाणमा रकम नभएको र सामाजिक सञ्जालमा आएको विवरण एआईबाट बनाएको हुनुपर्ने बयान दिएका छन्।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवाको बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो भने देउवा दम्पतिमाथि आक्रमण भएको थियो।
देउवाको घरमा नेपाल र विभिन्न मुलुकका मुद्रा जलेको अवस्थामा फेला परेको भिडिओहरू आएको थियो। त्यसबारे देउवाले निवासमा धेरै परिमाणमा रकम नरहेको र सामाजिक सञ्जालमा आएका विवरण एआईबाट बनाएको हुन सक्ने बयान दिएका हुन्।
देउवाले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष उक्त बयान दिएका थिए। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बनेको थियो। आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले सार्वजनिक गरेको छैन तर प्रतिवेदन बाहिरिएको छ।
उक्त प्रतिवेदनमा देउवाको बयानबारे उल्लेख छ, ‘नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन। सामाजिक संजालको विवरण AI generated हुनुपर्छ। सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षड्यन्त्र हो तर कसले गर्यो थाहा भएन।’
