• Friday 9th of October 2026

जागिर छाड्नेको लर्को रोक्न नसकेको भन्दै आईजीपी बने भावुक, गृहमन्त्री मञ्चबाट जुरुक्क उठे


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरे । सो क्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले प्रहरीको युनिफर्म उत्पादन गर्ने कारखाना नेपालमै खोल्ने घोषणा गरे । उनले भने, ‘नेपालकै ग्रामीण क्षेत्रमा कारखाना स्थापना गरी स्तरीय कपडा उत्पादन गर्नुपर्छ ।’

गुरुङले अर्को महत्त्वपूर्ण विषय उठाउँदै भने, ‘अब आईजीपीलाई मन्त्रालयका सचिवले फुली लगाइदिने होइन, प्रधानमन्त्रीले लगाइदिन्छन् ।’ उच्च प्रहरी अधिकृतहरूले आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउनुपर्ने विषयमा लबिङ गर्दै आए पनि यसअघि कसैले चासो दिएका थिएनन् ।

गुरुङले सार्वजनिक मञ्चबाट यस्तो घोषणा गरेपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा तालीको गडगडाहट गुञ्जियो ।

गृहमन्त्रीको सम्बोधन सकिएपछि आईजीपी दान बहादुर कार्कीले धन्यवाद मन्तव्य सुरु गरे । प्रहरीमा जागिर छाड्ने समस्या बढ्दो रहेको उल्लेख गर्दै उनले भने, ‘यो समस्या तत्काल समाधान गर्न आवश्यक छ ।’

जवानहरूलाई प्रहरी सेवामा टिकाइराख्न २० वर्षे सेवा अवधि घटाएर १६ वर्षमा पेन्सन दिनुपर्ने प्रस्ताव लामो समयदेखि अलपत्र परेको कार्कीले जानकारी दिए । आईजीपी कार्कीले भने, ‘मैले मेरा प्रहरीहरूलाई टिकाउन सकिनँ, यही नै अहिलेको मुख्य समस्या हो ।’

सम्बोधनका क्रममा आईजीपी कार्की भावुक हुँदै रोकिए । हलमा सन्नाटा छायो । त्यसपछि गृहमन्त्री आफ्नो सिटबाट जुरुक्क उठे । सँगै रहेका गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र सबै प्रहरी अधिकृतहरूलाई उनले उठ्न संकेत गरे । मन्त्री गुरुङले आईजीपीको समर्थनमा ताली बजाए । हलमा उपस्थित सबैले ताली बजाएर आईजीपीलाई समर्थन गरे ।

गृहमन्त्री गुरुङले प्रहरी प्रधान कार्यालयका सबै विभाग र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे । विगतमा तल्लो दर्जाका प्रहरीहरूसँग काम गर्दा भोगेको अभाव, चिउरा र चाउचाउको भरमा ड्युटी गर्नुपर्ने अवस्था सम्झँदै गुरुङले भने, ‘ठूलो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता छ ।’

प्रहरीले साधन र स्रोतविहीन भएर ड्युटी गर्ने अवस्था बदल्ने उद्घोष मन्त्री गुरुङले गरे । आफ्नो पार्टी रास्वपा र गृह मन्त्रालयबाट प्रहरीलाई हस्तक्षेपमुक्त राख्ने प्रतिबद्धता जनाए । उनले भने, ‘कसैले गलत कामका लागि दबाब दिए मलाई जानकारी गराउनुहोस्, मेरै पार्टीका मानिसले त्यस्तो दबाब दिए पनि छोड्दिनँ ।’

काठमाडौँ र अन्य ठूला सहरमा हुलदंगा नियन्त्रण गर्न प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीबिना नपठाउने गुरुङले बताएको निरीक्षण सम्बोधनमा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए । जेनजी प्रदर्शनमा कमजोर तयारीका साथ खटिँदा सुरक्षामा चुक भएको जाँचबुझ आयोगको ठहर छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖