काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयको विपक्षमा उभिएका छन् । साम्पाङले आफू उक्त निर्णयको विरुद्धमा रहेको बताएका हुन् ।
‘सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म’, उनले फेसबुकमा लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार, वर्षको ९ करोड ९० लाख र पाँच वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ ।’
खर्च कटौतीका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरेको थियो । यद्यपि, अहिले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिव पाउने गरी प्रक्रिया अगाडि बढाएको छ ।
आफ्नो सुझाव गम्भीर भएर लिँदा सरकार सफलताको बाटो हुँदै अघि बढ्ने उनले बताए । तर, नलिँदा असफलता र अपमान मात्रै भोग्नुपर्ने उनको भनाइ छ । ‘जसले जसरी बुझ्दा नि हुन्छ तर, प्रतिपक्ष दलमा नेता मात्रै नभएर एउटा असल मार्गदर्शक हुँ म,’ अर्को पोस्टमा उनले लेखेका छन्, ‘सरकारले मेरो सुझाव गम्भीर भएर लिँदा सफलताको बाटो हुँदै अघि बढ्नेछ ! नलिँदा असफलता र अपमान मात्रै भोग्नुपर्नेछ ।’
